वि.सं:
नेपाल संवत: ११४६ सिल्लागा सप्तमी - २२
प्रदेश प्रमुखको परिचय
सुरेन्द्र लाभ कर्ण (प्रायः लेखिने नाम - सुरेन्द्र लाभ ), प्रदेश प्रमुख, मधेश प्रदेश
नेपालको संविधान बमोजिम मधेश प्रदेशको प्रदेश प्रमुखको रूपमा कार्यरत प्रा. डा. सुरेन्द्र लाभ एक प्रतिष्ठित अर्थशास्त्री र प्रबुद्ध नागरिक हुनुहुन्छ। वि.सं. २०११ असार ५ गते (१९ जुन १९५४) मा मधेश प्रदेशको गौरवमय भूमि जनकपुरधाम (वडा नं. १०) मा जन्मनुभएका डा. लाभको पहिचान एक निष्ठावान प्राज्ञिक व्यक्तित्वको रूपमा रहेको छ।
शैक्षिक पृष्ठभूमि
उहाँले अर्थशास्त्र विषयमा स्नातकोत्तर (M.A.) र विद्यावारिधि (Ph.D.) गर्नुका साथै कानूनमा स्नातक (LL.B.) उपाधि हासिल गर्नुभएको छ। उहाँको प्राज्ञिक अनुसन्धान र विश्लेषणले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा विशेष महत्व राख्दछ।
प्राज्ञिक तथा पेशागत यात्रा
प्रा. डा. लाभले झण्डै चार दशक (४० वर्ष) सम्म त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरूमा अर्थशास्त्र विषयको प्राध्यापन गर्नुभएको छ।
महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज र रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (रा.रा.ब.), जनकपुरधाम मा उहाँले हजारौं विद्यार्थीहरूलाई दीक्षित गर्नुभएको छ। साथै जनकपुरका जनकपुर क्याम्पस, राजर्षि क्याम्पस, यस यम क्याम्पस र मोडेल कलेजमा पनि अध्यापन गर्नु भएको छ ।
लामो समयको प्राध्यापन सेवा पश्चात उहाँले केही वर्ष अघि प्राध्यापक पदबाट अवकाश प्राप्त गर्नुभएको हो।
प्रमुख जिम्मेवारी तथा सार्वजनिक सेवा
राज्यका विभिन्न नीति निर्माण र सामाजिक सेवाका क्षेत्रमा उहाँले महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएको छ:
राष्ट्रिय योजना आयोग: सदस्यको रूपमा देशको समग्र विकास नीति र योजना तर्जुमामा योगदान।
नीति अनुसन्धान प्रतिष्ठान (Policy Research Institute): नेपाल सरकारको 'थिंक ट्याङ्क' को बोर्ड सदस्यको रूपमा नीतिगत अनुसन्धानमा संलग्न।
समाज कल्याण परिषद्: तत्कालीन सामाजिक सेवा समन्वय परिषद्को कोषाध्यक्ष र उपकार कोष प्रबन्ध समितिको सदस्य सचिवको रूपमा सेवा।
अन्तर्राष्ट्रिय अनुभव: संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) अन्तर्गत 'Conflict Prevention Project' मा परामर्शदाता (Consultant) को रूपमा कार्य।
लेखन तथा साहित्य
प्राज्ञिक क्षेत्रका अतिरिक्त डा. लाभको साहित्य र समसामयिक लेखनमा गहिरो अभिरुचि र दख्खल रहेको छ।
उहाँका अर्थशास्त्र सम्बन्धी विभिन्न पुस्तकहरू प्रकाशित छन्।
साहित्य क्षेत्रमा पनि उहाँका विभिन्न पुस्तक र पत्रिकाहरू प्रकाशित तथा सम्पादित छन्। उहाँ समसामयिक विषयहरूमा पत्रपत्रिकामा निरन्तर लेख–रचनामार्फत नागरिकलाई सुसूचित गर्दै आउनुभएको छ।