वि.सं:
नेपाल संवत: ११४५ ञलागा षष्ठी - २१
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक स्वरुपमा रुपान्तरणका क्रममा नेपालको मिथिला क्षेत्रस्थित मध्यपूर्वी तराइका सप्तरीदेखि पर्सासम्मका आठओटा जिल्लालाई समेटेर मधेश प्रदेश गठन गरिएको हो । नेपालका सातओटा प्रदेश मध्ये मधेश प्रदेश क्षेत्रफलका दृष्टिले सबैभन्दा सानो र जनसङ्ख्याका दृष्टिले सबैभन्दा ठुलो प्रदेश हो । यस प्रदेशको पूर्वमा कोशी प्रदेश, पश्चिममा बागमती प्रदेश, उत्तरमा कोशी र बागमती प्रदेश तथा दक्षिणमा भारतको बिहार राज्यसँग सिमाना जोडिएको छ । कोशी नदी र कोशी टप्पु वन्यजन्तु आरक्षले पूर्वमा मधेश प्रदेश र कोशी प्रदेश बिचको प्रादेशिक सिमांकनको रुपमा काम गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज बिचको सिमांकन रेखाले पश्चिममा मधेश प्रदेश र बागमती प्रदेश बिचको प्रादेशिक सिमांकनको रुपमा काम गरेको छ । संघीय संसदको प्रतिनिधि सभाका ३२, प्रदेश सभाका ६४ निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा १३६ स्थानीय तह रहेका छन् । सामाजिक, सांस्कृतिक, जनसाङ्ख्यिक दृष्टिकोणले विशिष्ट विशेषतायुक्त यस प्रदेशमा मैथिली, भोजपुरी, नेपाली लगायतका भाषाहरु प्रचलनमा रहेका छन् । प्राचीन कालमा मिथिला क्षेत्रमा शासन गर्ने विदेह वंशको राजधानी पनि मानिने वर्तमान समयको धार्मिक र सांस्कृतिक पर्यटनको केन्द्र जनकपुरधाम मधेश प्रदेशको राजधानीका रुपमा समेत रहेको छ ।